मनोवाद

कान्छा  आजपनि गाउ त रातै होला हगी  

       कान्छा  तिमी त आराम हौला पहाडहरुमा  तिमी त कुशल हौला स्याउले झुपडिहरुमा । भर्खर भुल–भुले मुहान पानीमा तिम्रो आँत शितल होला । ठेला उठेका हातले उब्जेको श्रमको गाँसमा तिमी त पवित्र हौला । आज पनि देखिन्छ होला नसिङ्ग डाँडामा हात, कान र घाँटीमा नाचेका संगीनहरु † राम्चेको विभत्सतामा आज पनि तिमी डुल्छौ होला । सेतु जैसीको आँगन तिम्रो पर्छ की पर्दैन । तिमी आँगनिमा एकैछिन गम खान्छौ  होला । दारबोटको जंगल तिम्रो कर्म क्षेत्रमा फुल्छ कि फुल्दैन ? अँ आज पनि उस्तै रातो भएर फुल्छ होला । तिमी फुर्सदको बिसौनीमा आज पनि पाभेल गुनगुनाउँछौं होला । ताओचिङ्ग बुनेर मनभरी भरी एक अंगालो खसे्रटो बोकेर ओयाङ्ग हाइ जस्तै रमाउँछौं होला । छिन्ताङ्ग, सुखानी र पिस्करको दुखाईमा तिम्रो चेत आज पनि दुख्दै होला । दुखाई र कष्टको संयोजनमा आजपनि तिमी सल्लेरी बुन्छौ होला मनभरी र सलाम टक्रयाउछौं होला जेलवाङ्गलाइ ।

    तल बेसिकी मझिनी भाउजु, पाङताङ्ग र गोल्चेका आस्याङ्ग र ज्यो–ज्यो, सबै सबैलाई सन्चै होला या नहोला ? बेसिको लमतन्न फाँटमा आमाहरु, दिदीहरु र बहिनीहरु डल्ला फोर्दै होलान । सुनकोशिको बहाबमा मुक्तिको फलैचा फुल्यो कि फुलेन कान्छा ? अँ कोदो टिपेर बुहारीहरु साँझ घर फर्किदा तिम्रा नाममा एक छ्याम्बा ढिडो हुन्छ कि हुदैन ? पक्कै हुन्छ होला । तिमी साधेको गुन्द्रुक र भटमास, दाविलोको दाबमा मस्काएको एक डल्लो ढिडोमा क्रान्ति हुकाईरहेको हौला । तिमी बाटो काटेको साँझ धुर्सुल च्यापेर एक अंगाली बाख्रे घाँस आज पनि सेल्टर पस्दै हौला । हेर न कान्छा म बसेको ठाउँ त धुर्सुल र मुसाखरीे कही देखिदैन ।

     धार्पाको रात या चिलौनाघारीको सम्साझ, स्मृतिपटको यो क्षणमा म अतित सम्झीरहेछु । शहिदका सपनामा तिम्रो मन साटिन्छ होला  गाउँमा । यो शहर त विकृत छ , बिसंगत छ र बेसुरको छ । आकाशे पुलका गौडाहरुमा आज पनि नाङगो शरीर पल्टेको छ । भन कान्छा ? के याङ्गला कोटको च्याङबाले पिढ्यौमा इष्टीकोट भि¥यो ? पक्कै भिरेको हुनुपर्छ । चौकोसोमा बसेर प्रमुख बा आज पनि न्याय दिदै होलान जनअदालत बनाएर । यहाँ त न्यायको कुरै छोड्औं— सडकमा छुरा घसेर गुन्डाहरु दिन दहाडै भुक्न थाल्छन् । त्यहाँ त गुन्यौ चोलिमा सजिएर दिदी–बहिनीहरु सलाम र लालसलाम भन्छन होला हिजोजस्तै, यहाँ कोल्टिदा ढल्किदा नाङगै हुन्छन । हेर न कान्छा आँखा उघारौं गाहो हुन्छ नउघारौ लडिन्छ ।

महलहरु मोटाउँछन, झुप्राहरु दुब्लाउँछन । उही पोहोरको  सालजस्तै महगीले दपेटिको काइली आज पनि वाग्मतीमा बालुवा चाल्छिन । घर घरमा मान्छेहरु बाधिन्छन् अदृष्य साङ्गलोले र रोजगारीको नाममा दास बनाइन्छन् । मालिक मालिक छन, धनि – धनि छन् । शासकका अनुहार मात्र फेरियो कान्छा । सबै महलमा बस्छन् र पजेरोमा सएर हुन्छन् । ठेस लागेको मान्छे उठायो भने बेकुफ बन्छ उठाउने –सज्जन बन्छ हाँस्ने । शोसणको ताज आरामी सोफामा बन्छ साइला धनी बन्ने सपना  गरिबहरु लुटिन्छन् । ति पहाडहरुमा त लुटिन्न, ति गाउँहरुमा त कुटिन्न गरिब ।

यहाँ त मानवियता झिकिएको हुन्छ  मष्तिकबाट । ठर्रा झोलमा डुबे जस्तै मनै नमिठो बोल्छ शहर । उहिले उहिले बाले भन्थे – शहरले धर्म छोडेको छ बाबु । हाम्रा गाउँघरमा त दुःख साट्थ्यो गाउँले र सुख बाड्थ्यो । समाज बनेर एक गाँउ मुक्तिको सपनामा उठ्थ्यो, यो विकृत शहर कतिबेला सुत्छ र कतिबेला उठ्छ थाहै पाइन्न कान्छा । धिप–धिप टुके दियालोमा आधा रातसम्म बैठक चल्दै होला गाउँमा, संगठन, सघर्ष र सत्ताको एजेन्डामा छलफल हुन्छ होला, माइला र धनेहरु उस्तै मुठी कसेर रिपोर्टिङ्ग गर्छन होला । आलोचना–आत्मआलोचना पनि उस्तै गरी गम्भिरतापूर्वक चल्छ होला । डम्फुको तालमा आस्याङ्ग र ज्यो – ज्योहरु चउर भरी नाच्छन होला । राता ध्वजा पताकाहरु मुनिको जनमास स्वतन्त्र र उन्मुतm बन्दै आज पनि भन्छ होला नेपाली क्रान्ति जारी छ ।

गाउँबाट खेदेकाहरु, सोझा र गरिबहरुलाई ठगेकाहरु, चेलिबेटीको इज्जत नभनेकाहरु यही थुप्रिएका छन् । स्वतन्त्रका लागि उठेको हाम्रो आन्दोलनका विरोधीहरु, सुराकीहरु  र हत्याराहरु, उही के त कान्छा खारा जलाउने राक्षसहरु । सबै सामन्तहरु सबका सबले डेरा बनाएका छन् । निरकुश दरवारका लठैतदेखि साम्राज्यवादका दलालहरु सबै अटछन् शहरमा । उनिहरु यही छन् । काग्रेसीहरु, कम्युनिष्टका नाममा कलंकित रायमाझिका सन्तानहरु । सि.आइ.र “र” का एजेन्टहरु, दलाल, भष्टाचारी, ब्याभीचारी र घुसखोरीहरु जो हाम्रो सपनाका ज्यानी दुश्मनहरु हुन– तिनि यही छन् । अरनिको पहरा फोर्दा, तिम्रो दाजु मार्ने ठेकेदारहरुका कुरुप महलहरु छन् ! कहिले कहिले यिनी कुर्लन्छन् र बहुलाउँछन हाम्रा सपनाको विरुद्धमा । महलहरुबाट सपना तुहाउने योजना बन्छ र सडकमा दुई चार लठैतहरु भुक्छन । संचार छोटे राजा हो कान्छा यिनी सबैका कचेरा , हाम्रा विरुद्धमा हुरी मच्चाउन खोज्छन् ,रिस त उठ्दो हो नि यिनीहरुलाई पनि । दुई चार उर्फदा जुलुश नै हुदोरहेछ । अँ गरिबहरु पनि छन् हाम्राहरु पनि छन् । वागमतिका किनारामा बालुवा  चाल्ने श्रमिकहरु,  महल बनाउने ज्यामीहरु भारी बोक्ने हाम्रा सन्तानहरु । मेहेनतकस श्रमजिवीका पाखुराहरु बेला बेला टुडीखेलमा नाच्छन राता झन्डामुनि  र क्रान्तिको गीत गाउँछन । फ्याक्ट्रीका मजदुरहरु छन्, घरी – घरी रसियन विद्धोहको झलक दिन्छन । हो कान्छा विकृत र विसंगती शहरको साम्राज्यमा स्पार्टकसहरु पनि छन् । गरिब । म टोलाउन पाए भने सम्झन्छु छोरा गुमाएकी पहाडि आमाहरु, छोरी हराएका मुजे निधारका गाउँले बाबाहरु, घर जलेका, पाटो गुमाएका, रोमियो, किलो सेरा टु र ंसंकटकाल खपेका मेरा प्रिय लेकाली दाइ भाइहरु – के कान्छा त्यो गर्वकोे पहाड उठेर शहर पस्दा क्रान्ति नजित्ला र ? जित्छ, पक्कै जितिन्छ, सबै सन्तान गुमाएका आमाहरु र बाबाहरु, श्रीमान गुमाएका भाउजुहरु, ति दूधे नानीहरु जसले बाबाहरु देखेनन् । ति सबैलाई शहर आउने चुलै निम्तो यो गन्धकीबस शहरी बेसवाट !

कान्छा । तिम्रा बैठकहरुमा यो शहरको छलफल चलोस तिम्रो कम्युन र सर्वहारा कमिटीमा यो शहरको बहस परोस । शहिदका आमाहरु, दिदीहरु र दाजुहरु सबै सबैमा यो सन्देश परोस, शहर फेर्न बाँकी छ । शहर बदल्ने दायित्व र कर्तब्यमा जुटेका हामीहरु त कस्ता कस्ता अपूर्ण जस्ता छौ । यो सहर फेर्न आउनुपर्छ । क्रान्तिका रापिला योद्धाहरु, बेपत्ता पारिएका सन्तानहरु, रोमियो पचाएका खाम बाबा र आमाहरु । किलो शेरा “टु” र संकटकालमा पनि लडेका पहाडी सन्तानहरु । जसले बहादुरिता पूर्वक प्रतिरोध गरेर गाउँहरुमा कम्युन बनाए । पराले फाइटर ब्याग बनाउने ति कलात्मक हातहरु ! बन्दुकका फित्ता बनाउछन होला नी आजपनि खोष्ठाका । ति महान पौरखहरु, गाउँ त खाली छ कान्छा भुतहरुबाट अब शहर खाली गर्नुछ । सबै सबैलाई चुलै निम्तो । गर्वको पश्चिमी पहाड जलजलालाई मनाष्लु र सगरमाथा सबै सबैमा निमन्त्रणा । कान्छा शहर जित्नुपर्छ एकफेर अनि मात्र पूरा हुन्छन् सपना । हामी आधार बनाउँला आमन्त्रणको, तिनै पहाड र समतल तराई गर्वले उठेर आउनु है । 
                                (२०६३/०८/२८)