Sunday, February 6, 2011

नेपालीहरुले आफनो निर्णय आफै गर्न सक्छन् भन्ने इतिहास स्थापित भएको छ -अध्यक्ष प्रचण्ड
हामी इतिहासको अत्यन्तै संवेदनशील मोडमा छौं । प्रधानमन्त्री निर्वाचनको असाध्यै दुःखद् प्रकि्रयाबाट गुजि्रएर अर्को नयाँ प्रकि्रयाबाट प्रधानमन्त्री निर्वाचन गर्ने क्रममा जुटेका छौं । यतिबेला यो माचमा धेरै महिनापछि उभिएर माननीय सदस्यहरुको अगाडि प्रधानमन्त्री निर्वाचनको सन्दर्भमा बोल्दै गर्दा यही हलमा विस्तृत शान्तिसन्झौता गर्दा दिवङ्गत गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गर्दा जुन भाव यहाँ थियो संविधानसभाको निर्वाचन सम्पन्न भएर गणतन्त्र घोषणा गर्दाको जुनस्थिति थियो त्यसलाई मैले सम्झिरहेको छु ।

१२ बुँदे समझदारी कुन ऐतिहासिक पृष्ठभूमिमा भएको थियो विस्तृत शान्तिसम्झौता के कारणले सम्भव भएको थियो जनयुद्ध र जनआन्दोलन एकअर्कामा परिपूरक बनेर नेपालको नयाँ इतिहास निर्माण गर्ने क्रम कसरी अगाडि बढेको थियो यसमा सबैको ध्यानाकर्षित गर्न चाहन्छु । इतिहासमा जहिले पनि जब सामाजिक परिवर्तन राजनीतिक परिवर्तनको प्रभावहरु अगाडि आउँछन् । जनता राजनीतिक दल राजनीतिक दलका नेताहरुका त्याग बलिदान र तपस्याहरुले त्यहाँ भूमिका खेलेका हुन्छन् ।

हामीलाई थाहा छ १२ बुँदे समझदारी दसवर्षे जनयुद्धमा १० हजार नेपाली जनताका असाध्यै राम्रा छोराछोरीको बलिदानको जगमा र विभिन्न चरणमा भएका जनआन्दोलनमा नेपाली जनताले बगाएको रगत पसिनामा त्यो सम्भव भएको थियो । १२ बुँदे समझदारी राजनीतिक नेतृत्वका हैसियतले भन्ने हो भने पनि त्यतिबेलाका राजनीतिक नेता तथा कार्यकर्ताहरुको त्यागको भावना आफ्ना कतिपय अडानहरु छोडेर अर्काका कतिपय अडानहरु तालमेल कायम गर्ने एउटा उदाहरणद्वारा सम्भव भएको थियो । यो संविधानसभाको निर्वाचन गणतन्त्रको घोषणा सङ्घीयता धर्मनिरपेक्षता सामाजिक न्यायजस्ता ऐतिहासिक उपलब्धिहरु यथार्थमा नेपाली जनता राजनीतिक दलका नेता र कार्यकर्ताको त्याग र बलिदानको जगमा सम्भव भएका थिए ।

(बिहीबार व्यवस्थापिका-संसद्मा प्रधानमन्त्री निर्वाचनका सन्दर्भमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल \'प्रचण्ड\'ले व्यक्त गर्नुभएको मन्तव्यमा आधारित)

No comments:

Post a Comment